८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने


  • दिव्यदर्शन
  • शनिबार, चैत्र १९ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

नवलपरासी,चैत १९ । नवलपरासीमा चैत २२ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे ७ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।

बहुवर्षीय खोप कार्ययोजनाको लक्ष्यअनुसार यही चैत २२ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । यहि चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको खोप अभियान कार्यक्रम अन्तर्गत जिल्लाका ८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय परासीका मलेरिया इन्सपेक्टर एवं कोभिड-१९ जिल्ला फोकल पर्सन देवि पौडेलले जानकारी दिए । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा लगाउन लागिएको उनले बताए ।

केही विद्यालयमा बालबालिकाहरुको परीक्षा संचालन भएकोले केही पालिकामा अघिपछि मितिमा टाइफाइड रोगविरुद्धको खोप लगाइने उनको भनाइ छ । यो खोपको भायलमा भिभिएम रहेको तथा एक भायलमा पाँच मात्रा रहेको रंगविहीन तयारी झोलको रुपमा एक जनालाई शून्य दशमलव पाँच एमएलमा दिइने भएको छ । यो खोप १५ महिनादेखि २३ महिनाको बच्चालाई बाँया तिघ्राको बीच बाहिरी भाग र २ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई बाँया पाखुराको बीच बाहिरी भागमा लगाइने भएको हो । नवलपरासी पश्चिम जिल्लामा ८ दिनको अभियान संचालन गरेर खोप पुर्ण रुपले दिइसक्ने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई जिल्लाका सम्पूर्ण विद्यालय तथा स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरि खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web