धादिङ \– धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन हुनुभएको छ। धादिङबेसीमा शनिबार सम्पन्न संघको पाँचौँ अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सिद्धलेकका दिलिप थापा र नीलकण्ठका महेन्द्र ढुङ्गाना चयन हुनुभएको छ। सचिवमा ज्वालामुखीका उत्तम भट्ट र कोषाध्यक्षमा सिद्धलेकका सोम श्रेष्ठ चयन हुनुभएको छ।
यस्तै, सदस्यहरूमा सीता श्रेष्ठ, ठमबहादुर मगर, बुद्धिबहादुर थापा र आईतराम गुरुङ चयन हुनुभएको संघका निवर्तमान महासचिव विकास कोइरालाले जानकारी दिनुभयो।
अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले जिल्लामा भलिबल खेलको विकासका लागि संघ, खेलाडी, प्रशिक्षक तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले जिल्लाबाट प्रतिभावान खेलाडी उत्पादन गरी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
निवर्तमान अध्यक्ष अमृत गुरुङ (तिलक) ले आफ्नो कार्यकालमा संघलाई सक्रिय बनाउँदै जिल्लामा भलिबलका विभिन्न गतिविधि तथा प्रतियोगितालाई निरन्तरता दिन सफल भएको बताउनुभयो। उहाँले नयाँ नेतृत्वले विगतका सकारात्मक कामलाई निरन्तरता दिँदै भलिबल खेलको विकास र खेलाडी उत्पादनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष गौतमप्रसाद लासिवा, केन्द्रीय सदस्य क्षितिज इटनी, बागमती प्रदेश भलिबल संघका अध्यक्ष माधव केसी, प्रदेश महासचिव सुदर्शन जम्मरकटेल तथा काठमाडौं जिल्ला भलिबल संघका अध्यक्ष रामप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी भलिबल संघका विभिन्न तहका पदाधिकारीहरूले धादिङ जिल्ला भलिबल संघ जिल्लामा सक्रिय संघका रूपमा स्थापित भएको बताएका थिए। उनीहरूले धादिङमा नियमित रूपमा भलिबल प्रतियोगिता आयोजना हुँदै आएको र बागमती प्रदेशमै धेरै प्रतियोगिता आयोजना गर्ने जिल्लामध्ये धादिङ पनि अग्रस्थानमा रहेको उल्लेख गरेका थिए।
नवनिर्वाचित अध्यक्ष अमृत तामाङ नेतृत्वको कार्यसमितिले जिल्लामा भलिबल खेलको थप विकास, नयाँ प्रतिभाको पहिचान तथा उत्पादन र नियमित प्रतियोगिता सञ्चालनलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।

