भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निको फाउण्डेशनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
फाउण्डेशनकी अध्यक्ष अञ्जु शर्माका अनुसार एक नेपालीलाई परेको पीडा र दुःखमा अर्को नेपालीले सक्दो सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनाका साथ उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो। विपद्को यस कठिन समयमा बाढी प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले फाउण्डेशनले आर्थिक सहयोग उपलब्ध गराएको उहाँले बताउनुभयो। भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको छ। बाढीका कारण ती जिल्लामा प्रत्यक्ष रूपमा प्रभावित भएका स्थानीयवासीसँगै रोजगारी, धार्मिक यात्रा तथा व्यापारका सिलसिलामा ती क्षेत्रमा पुगेका व्यक्तिहरूसमेत प्रभावित भएकाले उनीहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले फाउण्डेशनले सरकारमार्फत सहयोग गरेको जनाएको छ। निको फाउण्डेशनले यसअघि पनि नेपालका विभिन्न स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ। साथै, दैवी प्रकोप तथा विपद्का समयमा अग्रपंक्तिमा रहेर मानवीय सहायता उपलब्ध गराउँदै आएको फाउण्डेशनले जनाएको छ। अमेरिकाको भर्जिनियामा करिब एक दशकअघि सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको निको फाउण्डेशनले नेपालसहित विभिन्न देशमा सामाजिक तथा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्दै आएको छ। निःस्वार्थ भावनाका साथ मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै आएको फाउण्डेशनले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि सरकार, विभिन्न संघसंस्था तथा सहयोगी निकायबाट सहयोग जुटिरहेका बेला निको फाउण्डेशनको यो सहयोगले प्रभावित परिवारको उद्धार तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
