धादिङ–२ का एमाले उम्मेदवार घलेद्वारा बुढीगण्डकी प्रभावितसँग छलफल


  • दिव्यदर्शन
  • शनिबार, माघ २५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
धादिङ क्षेत्र नम्बर–२ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले ज्वालामूखी गाउँपालिका–७ अन्तर्गत चैनपुर क्षेत्रमा बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित नागरिकहरूसँग छलफल गर्नुभएको छ ।

छलफलका क्रममा स्थानीयवासीहरूले बुढीगण्डकी १२०० मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा भएको ढिलाइ, मुआब्जा पाए पनि पुनर्वासको उचित व्यवस्थापन नहुनु लगायतका समस्याबारे ध्यानाकर्षण गराउँदै ती माग सरकारसम्म पुर्‍याई समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

एमाले उम्मेदवार घलेले बुढीगण्डकी जलविद्युत् आयोजना एमाले सरकारका पालामा, तत्कालीन जलस्रोत तथा ऊर्जामन्त्री गोकर्ण विष्टको कार्यकालमा सुरु गरिएको उल्लेख गर्दै एमालेले सरकार गठन गरेपछि आयोजनालाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विस्थापित नागरिकहरूको पुनर्वास र आयोजनाको कार्यान्वयनका लागि आफू निर्वाचित भएपछि सबै किसिमको पहल गर्ने बताउनुभयो ।

घलेले प्रतिनिधिसभामार्फत आवश्यक नीति तथा कानुन निर्माण गरी गाउँको विकासमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलाई नागरिकको पहुँचमा पुर्‍याउने र समग्र विकासका लागि सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

मतदाता भेटघाटका क्रममा उम्मेदवार घले ज्वालामूखी गाउँपालिकाका काउलेडाँडा, सालबास, भदौरे, ढोडेनीलगायतका बस्तीहरूमा पुगेर मतदातासँग भेटघाट तथा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, जिल्ला अध्यक्ष अर्जुन गोर्खाली, उपसचिव भक्त लामीछानेलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web