धादिङ । २० माघ,
धादिङमा एच.पि.भि. खोप अभियान प्रभावकारी बनाउन जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न धादिङ जिल्लामा एच.पि.भि. (HPV) खोप अभियानलाई सफल र प्रभावकारी बनाउन जिल्ला पूर्ण खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूको संयुक्त बैठक आज सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा धादिङ अस्पतालको सभाहलमा सम्पन्न बैठक जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा बसेको हो। बैठकले खोप अभियानसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा जानकारी गराइएअनुसार यस वर्ष धादिङ जिल्लाभर २ हजार ७ सय ३३ जना छात्रालाई एच.पि.भि. खोप लगाइने लक्ष्य तय गरिएको छ। खोप अभियान अन्तर्गत विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेर पूरा गरेका छात्राहरूलाई खोप प्रदान गरिनेछ। जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार माघ २७ गतेदेखि २९ गतेसम्म जिल्लाका विभिन्न विद्यालयहरूमा खोप अभियान सञ्चालन हुने छ। सो अवधिमा खोप लिन छुट भएका छात्राहरूले फाल्गुन १ वा २ गतेसम्म खोप लगाउन सक्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।

बैठकमा खोप अभियानसँगै नसर्ने रोगको रोकथाम तथा न्यूनीकरण र मानसिक स्वास्थ्य प्रवर्द्धन विषयमा समेत जिल्लास्तरीय छलफल गरिएको थियो। तथ्यांकअनुसार धादिङ जिल्लाका १३ वटै स्थानीय तहबाट नसर्ने रोगबाट प्रभावित ४ सय ४१ जनालाई सहज उपचारका लागि सिफारिस गरिएको जनाइएको छ।

कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले संघ, प्रदेश र स्थानीय तहबाट विभिन्न स्वास्थ्य कार्यक्रमहरू सञ्चालन भइरहे पनि त्यसको प्रभावकारिता अपेक्षित रूपमा नदेखिएको उल्लेख गर्नुभयो। साथै, अझै पनि धेरै नागरिक स्वास्थ्य सेवाहरू र सुविधाबारे अनविज्ञ रहेको बताउँदै सबै तहका सरकारहरूले स्वास्थ्यसम्बन्धी सूचना सार्वजनिक गर्दै जनतासम्म पहुँच पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

बैठकमा विभिन्न पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू, विभिन्न सञ्चार माध्यममा आबद्ध सञ्चारकर्मीहरू, स्वास्थ्यकर्मीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
