धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको आयोजनामा मिति २०८२ साल पुस २५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। महिला खेलाडीको क्षमता अभिवृद्धि र स्थानीय स्तरमा खेलकुद विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको फाइनल खेल पुस २६ गते शनिबार सम्पन्न भएको थियो। सेमजोङस्थित चौतारा माध्यमिक विद्यालय ‘सी’ टिम ले मार्पाक वडा नं. १ को ‘बी’ टिम लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ। यससँगै चौतारा मावि ‘सी’ टिमले प्रतियोगिताको प्रथम स्थान हासिल गरेको हो।
यस्तै, मार्पाक ‘बी’ टिम ले उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान प्राप्त गरेको छ भने चौतारा माध्यमिक विद्यालय ‘बी’ टिम प्रतियोगिताको तृतीय स्थानमा रहन सफल भएको छ।
प्रतियोगितामा विजेता टिमलाई नगद ३० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई २० हजार रुपैयाँ र तृतीय हुने टिमलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी चौतारा ‘सी’ टिमकी खेलाडी सलिना सुनार लाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो।
खेल समापन तथा पुरस्कार वितरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष सिता माया गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा गाउँपालिका प्रमुख मेघनाथ रिजाल को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले महिला खेलकुदको विकासका लागि यस्ता प्रतियोगिताहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, खेलप्रेमी दर्शक तथा अभिभावकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न प्रतियोगिताले महिला खेलाडीहरूलाई उत्साह थप्नुका साथै स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
