काठमाण्डौ – धादिङसहित देशका पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा अहिले वर्षा भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोभन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ। यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आगामी शनिबारसम्म देशभर वर्षा र हिमपात जारी रहने अनुमान गर्दै यसबाट दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका सबै जिल्लाहरू, साथै दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा र धादिङ जिल्लामा बढी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार अहिले देशमा बंगालको खाडीमा विकसित मोन्था चक्रवातसँगै पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
