तिहार नजिकिँदै गर्दा फूलको कारोबार तीव्र, नेपाल पुष्पखेतीमा आत्मनिर्भर बन्दै


  • दिव्यदर्शन
  • शुक्रबार, कार्तिक १ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डाै,– तिहारको चहलपहल सुरु भएसँगै देशभर फूलको किनबेच तीव्र गतिमा बढेको छ। फूल र रङको पर्वका रूपमा मनाइने तिहार नजिकिँदै गर्दा विशेषगरी सयपत्री र मखमली फूलको व्यापार निकै बढेको पुष्प व्यवसायीहरू बताउँछन्।

तिहारमा मात्र काठमाण्डौ उपत्यकाभित्र करिब ४० लाख माला बिक्री हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन्। बढ्दो मागसँगै देशभर पुष्पखेतीको विस्तार भएको छ।

नेपालमा २०११ सालदेखि सामान्य रूपमा फूलखेती हुँदै आए पनि २०५० को दशकदेखि यसले व्यावसायिक रूप लिन थालेको हो। पछिल्लो दशकमा फूलखेतीबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्प व्यवसायमा लाग्नेको संख्या उल्लेख्य रूपमा बढेको छ।

पुष्पखेतीको माग तिहार, विवाह, पूजाआजा, स्वागत, बिदाइ, र अन्त्येष्टिसम्म विविध काममा हुने गरेको छ। यिनै कारणले तिहार नजिकिँदै गर्दा सयपत्री र मखमली फूलको व्यावसायिक खेतीको आकर्षण बढेको हो।

बढ्दो शहरीकरणसँगै सातै प्रदेशका प्रमुख शहरहरूमा नर्सरीहरू स्थापना गरी फूलखेतीको अभ्यास हुँदै आएको छ। खेतीका लागि कृषकहरूले निजी जमिनसँगै जमिन भाडामा लिएर पनि उत्पादन गरिरहेका छन्।

कोरोना महामारीका कारण केही समय सुस्ताएको पुष्प व्यवसाय अहिले पुनः गति लिँदै गएको व्यवसायीहरूको भनाइ छ। नेपालमा उत्पादन हुने फूलहरू जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएई लगायतका मुलुकमा निर्यात हुँदै आएको पनि एसोसिएसनले जनाएको छ।

नेपाल पुष्प उत्पादनमा क्रमशः आत्मनिर्भर बन्दै गएको र आयातभन्दा निर्याततर्फ फोकस गर्न सकिने अवस्था निर्माण भइरहेको व्यवसायीहरूको विश्वास छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web