धादिङमा वन संरक्षणका १२ योद्धा सम्मानित, वातावरण शिक्षा पुस्तक सार्वजनिक


  • दिव्यदर्शन
  • सोमबार, असोज २७ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ, २०८ असोज २७

धादिङ जिल्लामा वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा विशेष योगदान दिने १२ जना विशिष्ट व्यक्तित्वहरूलाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ। डिभिजन वन कार्यालय, धादिङको आयोजनामा सोमबार सम्पन्न विशेष कार्यक्रममा ९ जना जीवित र ३ जना दिवंगत व्यक्तित्वहरूलाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो।

“प्रकृतिको अस्तित्व स्वीकार गरौं, संरक्षणको स्तर उकासौं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी. प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा मन्त्री के.सी. ले जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, र भावी पुस्ताका लागि स्वस्थ वातावरण सुनिश्चित गर्न सबै पक्षको समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रमको क्रममा ‘वातावरण शिक्षा’ शीर्षकको पुस्तक सार्वजनिक गरियो, जसले बालबालिकामा वातावरणप्रतिको जिम्मेवारी र संरक्षण चेतनाको विकास गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। उक्त पुस्तक डिभिजन वन कार्यालय, धादिङले प्रकाशन गरेको हो।

डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले समाजका अग्रणी व्यक्तिहरूको योगदान अनुकरणीय भएको उल्लेख गर्दै यस्ता व्यक्तित्वहरूको सम्मानले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामुदायिक सहभागिता र स्थानीय तहमा वातावरणीय चेतना फैलाउने यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रमले स्थानीय तहमा वन तथा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्दै समुदायमा दिगो विकासप्रतिको समझदारी र सार्वजनिक समर्थन सुनिश्चित गर्ने दिशामा सकारात्मक सन्देश दिएको छ।यस किसिमका सम्मान तथा अभियानहरूले संरक्षण र दिगोपनाको यात्रामा समाजका सबै तह र तप्कालाई समेट्दै साझा प्रयासको मार्ग प्रशस्त गर्छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web