काठमाडौँ, असोज १८
देशभर जारी मुसलधारे वर्षाले जनजीवन प्रभावित बनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र मौसम पूर्वानुमान महाशाखा दुबै निकायले अहिलेको मौसमलाई अत्यन्त संवेदनशील भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन्।
मौसमविद्हरूका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण गएरातिदेखि काठमाडौं उपत्यकालगायत देशभर लगातार वर्षा भइरहेको छ। आज रातिदेखि अर्को मनसुन प्रणाली थप सक्रिय हुने अनुमान गरिएको छ, जसले गर्दा वर्षा अझै तीव्र हुनसक्ने महाशाखाको भनाइ छ।
हाल सबैभन्दा बढी वर्षा मधेश प्रदेशमा भइरहेको छ। विशेषगरी पर्सा, सर्लाही, रौतहट, धनुषा र महोत्तरी जिल्लामा भारी वर्षा मापन गरिएको छ।
🌧 पछिल्ला १२ घण्टामा वर्षा मापन:
- वीरगञ्ज (पर्सा) – 144 मिमि (देशभरमा सबैभन्दा बढी)
- बारा – 140.4 मिमि
- रौतहट (गौर) – 129 मिमि
- महेशपुर – 124 मिमि
यस्तै, धनकुटा, खोटाङ, सिन्धुली, मकवानपुर, काभ्रे, काठमाडौं, चितवन र जाजरकोटमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ।
बाढीविद् विनोद पराजुलीका अनुसार आज रातिदेखि साना खोलानालाहरूमा आकस्मिक बाढीको खतरा उच्च छ। धादिङ, तनहुँ, लम्जुङ, गोरखा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू बढी जोखिममा छन्।
भोलि बिहानदेखि नारायणी, त्रिशूली, बागमती, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, पूर्वी राप्ती, कमला लगायत नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्नसक्नेछ।
नवलपरासीपूर्वदेखि धनकुटासम्मको तराई क्षेत्रमा लगातार वर्षा भइरहेको छ।सिन्धुपाल्चोकदेखि दोलखासम्म र उपत्यकामा ५० मिमि भन्दा बढी वर्षा भएको छ।देशभरका ५० भन्दा बढी वर्षा मापन केन्द्रमा ३०–५० मिमि वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।महाशाखाले देशका सबै नागरिकलाई:नदी किनारबाट टाढा रहन,पहिरो सम्भावित क्षेत्रबाट सुरक्षित स्थानतर्फ सर्न,तथा सरकारी सूचनामात्र पालना गर्न आग्रह गरेको छ।
