बागमती प्रदेश सभामुख भुवनकुमार पाठकद्वारा पदबाट राजीनामा


  • दिव्यदर्शन
  • शनिबार, भाद्र २८ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

हेटौंडा, बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। नयाँ पुस्ता (जेन-जेड) को आन्दोलन र पछिल्लो राजनीतिक घटनाक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालमार्फत राजीनामा दिने जानकारी गराउनुभएको हो।

सभामुख पाठकले परिवर्तनका लागि युवाले उठाएको आवाजलाई ऐक्यबद्धता जनाउँदै पदमा बस्ने नैतिक अवस्था नरहेको भन्दै राजीनामा दिन लागिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “देशमा हाल भइरहेका घटनाक्रम, विशेषगरी नयाँ पुस्ताको आवाज, केवल आन्दोलन नभएर विवेकको क्रान्ति हो। यसले हामी सबैलाई न्याय, पारदर्शिता र समानताको बाटोमा हिँड्न प्रेरित गरिरहेको छ।”

उहाँका अनुसार, देशमा ठूला धनजनको क्षति भइसकेको र प्रदेशका संरचनाहरू समेत प्रभावहीन बन्दै गएकोले प्रदेश सभाको काम गर्न सकिने अवस्था नरहेको हो। उहाँले नेतृत्वको अर्थ केवल कुर्सी सम्हाल्नु नभई जनताको आवाज सुन्ने र बुझ्ने जिम्मेवारी पनि भएको उल्लेख गर्नुभयो।

राजीनामाको जानकारी उहाँले बागमती प्रदेश सभामुखको सचिवालयको अधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गर्दै लेख्नुभएको छ, “गह्रौँ तर दृढ मनले, मैले बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा दिने निर्णय गरेको छु।” उहाँले थप लेख्नुभएको छ, “म विश्वस्त छु, यो पुस्ता इतिहासमा आफ्नो दृष्टि, साहस र अटल प्रतिबद्धताका कारण अमर हुनेछ। मेरो राजीनामा उनीहरूको संघर्षप्रति सम्मान र भविष्य निर्माणतर्फ सानो योगदान हो।”

उता, बागमती प्रदेश सभाकी उपसभामुख अपसरा चापागाईंले सभामुख पाठकले अनौपचारिक रूपमा राजीनामाको जानकारी गराएको तर औपचारिक पत्र भने प्राप्त नभएको बताउनुभयो। सभामुख पाठकले भने अब हेटौंडा पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाउने तयारी रहेको जानकारी दिनुभएको छ।

यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय संसद् तथा प्रदेश सभाका आफ्ना सबै सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेपछि पाठकको राजीनामा आएको हो। उहाँ राप्रपाबाट बागमती प्रदेश सभामा निर्वाचित भएका थिए।

बागमती प्रदेश सभामा हाल ११० जना सदस्य छन्, जसमा पाठकसहित राप्रपाका १३ जना सांसद रहेका छन्।

राजीनामाको क्रममा सभामुख पाठकले आफूले कार्यकालभर लोकतन्त्र र सभाको गरिमा जोगाउन प्रयास गरेको स्मरण गर्दै प्रदेश सभा र सरकारलाई सत्यनिष्ठा र जिम्मेवारीका साथ अघि बढ्न शुभकामना पनि व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web