धादिङ/– धादिङको गजुरी गाउँपालिकामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

गजुरी गाउँपालिका,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धादिङ तथा कृषि विकास कार्यालय धादिङको संयुक्त आयोजनामा सम्पन्न महोत्सव गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी प्रमुख अतिथि, जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम विशेष अतिथि रहनुभएको थियो।कार्यक्रममा सामूहिक धान रोपाइँ, कृषि प्रविधिबारे जानकारी आदान–प्रदान तथा कृषकलाई प्रोत्साहन गर्ने विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले खेती गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गजुरी गाउँपालिका र अन्य स्थानीय तहहरूले प्रत्येक वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्दै आएको बताउनुभयो। उहाँले कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। धान दिवसको शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले रोपाइँको मुख्य समयमा पर्याप्त वर्षा नहुँदा किसानहरूले पानीको समस्या झेल्नुपरेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको समुचित व्यवस्थापन गरी सिँचाइको व्यवस्था गर्न सबै पक्षले समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले धान खेतीप्रति किसान तथा विशेषगरी युवापुस्ताको आकर्षण बढाउने उद्देश्यले राष्ट्रिय धान दिवस मनाउने गरिएको बताउनुभयो। उहाँले कृषि उत्पादन वृद्धि, आत्मनिर्भरता र कृषकको मनोबल उच्च बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश जोशी लगायतका कर्मचारी,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धादिङका प्रमुख लक्ष्य बहादुर चौधरी,कृषि विकास कार्यालय धादिङका प्रमुख तथा कर्मचारीहरु, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्का, इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख सुरज कार्की, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरू,गाउँपालिकाका कर्मचारी तथा ठूलो संख्यामा किसानहरूको सहभागिता रहेको थियो।
