धादिङ । देशभर किसानहरूले धान रोपाइँ तथा खेतीपातीको मुख्य समयमा रासायनिक मल अभावको समस्या भोगिरहेका बेला धादिङमा बिलबिनाको भारतीय रासायनिक मल बिक्री भइरहेको विषय सार्वजनिक भएपछि सरकारी निकायले अनुगमन गरी सम्बन्धित मल शिल गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्यापिड एक्सन टिम (र्याट) ले गरेको छड्के जाँचपछि नीलकण्ठ नगरपालिका– ३,स्थित दुवाडी एग्रोभेटमा बिक्री भइरहेको भारतीय रासायनिक मलमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गरेको हो।
रास्वपा धादिङका अनुसार भारतीय रासायनिक मल बिक्री भइरहेको सूचना प्राप्त भएपछि र्याट सदस्य दुर्गा बस्तीलाई ग्राहकका रूपमा मल खरिद गर्न पठाइएको थियो। मल खरिदपछि खरिद बिल माग्दा एग्रोभेटले बिल उपलब्ध गराउन नसकेको दाबी रास्वपाले गरेको छ।
त्यसपछि रास्वपा धादिङका अध्यक्ष दीपक अधिकारी, र्याट सदस्य दुर्गा बस्ती र राम तामाङलगायतका नेता तथा कार्यकर्ता खरिद गरिएको मलको बोरा लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष बजारमा बिक्री भइरहेको उक्त मलको तत्काल अनुगमन गर्न आग्रह गरेका थिए।
उजुरीपछि अनुगमनमा पुगेको विभागीय टोलीले खरिद तथा बिक्रीसम्बन्धी कागजात तत्काल प्रस्तुत गर्न नसकिएको भन्दै सम्बन्धित मल शिल गरेको छ। टोलीले अर्को निर्णय नभएसम्म उक्त मल बिक्री वितरण नगर्न निर्देशन दिएको जनाएको छ।
दुवाडी एग्रोभेटका सञ्चालक बोधनाथ दुवाडीले भने १७० बोरा भारतीय रासायनिक मल आएको र किसानको अत्यधिक मागका कारण प्रतिवोरा दुई हजार ७५० रुपैयाँमा खरिद गरी दुई हजार ९०० रुपैयाँमा बिक्री गरेको बताएका छन्। उनले उक्त मल कुनै कम्पनी वा संस्थाबाट नभई तेस्रो पक्षमार्फत प्राप्त भएको र त्यसको औपचारिक खरिद–बिक्री प्रक्रिया नभएको बताएका छन्।
अनुगमन टोलीले आवश्यक कागजात तथा खरिद–बिक्रीको विवरण पुष्टि हुन नसकेपछि मल शिल गरिएको र थप छानबिनपछि आवश्यक निर्णय गरिने जनाएको छ।
र्याट धादिङका अध्यक्ष दीपक अधिकारीले दुवाडी एग्रोभेट नीलकण्ठ नगरपालिका–७, १२ र १३ नम्बर वडामा सरकारी अनुदानको रासायनिक मल वितरण गर्ने आधिकारिक डिलरसमेत रहेको उल्लेख गर्दै सरकारी मल अभाव भइरहेका बेला बिलबिनाको भारतीय मल बिक्री हुनु गम्भीर विषय भएको बताए।
उनले देशभर किसानहरू सरकारी अनुदानको मल सहज रूपमा प्राप्त गर्न नसकिरहेको अवस्थामा अनधिकृत रूपमा आयातित वा बिलबिनाको मल बिक्री हुनु किसानको हितविपरीत हुने भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
हाल देशका विभिन्न जिल्लामा धान रोपाइँको मुख्य समयमा युरिया र डीएपीलगायत रासायनिक मलको अभाव देखिएको छ। सरकारी आपूर्ति पर्याप्त हुन नसकिरहेका बेला निजी तथा अनधिकृत माध्यमबाट मल बिक्री भइरहेको गुनासो किसानहरूले गर्दै आएका छन्। यस्तै अवस्थामा धादिङमा भएको यो घटनाले मल आपूर्ति, बजार अनुगमन र किसानको पहुँचसँग सम्बन्धित विषयलाई थप चर्चामा ल्याएको छ।
source:Dhadingpost,Ram Tamang
