काठमाडौं, साउन ९ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीनबुँदे लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिपत्रमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले दुई दलबीच सहकार्य गर्ने उल्लेख गरिएको छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्नेछ।
यस्तै, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सम्बन्धमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख छ।
साउन ९ गते हस्ताक्षर गरिएको उक्त सहमतिपत्रले प्रदेश सरकारहरूको नयाँ सत्ता समीकरण र नेतृत्व बाँडफाँटको स्पष्ट खाका प्रस्तुत गरेको छ।
