धादिङ।
राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. देवेन्द्र गौचनको नेतृत्वमा उच्चस्तरीय सरकारी टोलीले धादिङ जिल्लाका विभिन्न कृषि फार्म तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित कृषि जोनहरूको स्थलगत अनुगमन गरेको छ।

अनुगमन टोलीमा कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, राष्ट्रिय योजना आयोग सचिवालयका सहसचिव, कृषि तथा वातावरण मन्त्रालयका सहसचिव, कृषि विभागका महानिर्देशक, पशुपन्छी विभागका महानिर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धादिङका प्रमुख लक्ष्य बहादुर चौधरी लगायतका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

टोलीले जिल्लाका विभिन्न कृषि फार्म, उत्पादन क्षेत्र तथा कृषि जोनहरूको अवलोकन गर्दै उत्पादन अवस्था, आधुनिक कृषि प्रविधिको प्रयोग, पूर्वाधार विकास, किसानले भोगिरहेका समस्या तथा कृषि आधुनिकीकरण कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिएको थियो।
अनुगमनका क्रममा किसान तथा कृषि प्राविधिकहरूसँग प्रत्यक्ष छलफल गर्दै उत्पादन वृद्धि, बजारीकरण, सिँचाइ, कृषि यान्त्रिकीकरण तथा जलवायु अनुकूल कृषि प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव संकलन गरिएको थियो।
राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचनले कृषि क्षेत्रको दिगो विकास, उत्पादन वृद्धि तथा किसानको आयस्तर उकास्न केन्द्र, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले कृषि आधुनिकीकरणका कार्यक्रमहरूलाई परिणाममुखी बनाउँदै व्यावसायिक कृषि प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको विस्तार तथा किसानमैत्री कार्यक्रममार्फत कृषि क्षेत्रलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन सरकारले आवश्यक नीति तथा कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।
अनुगमन टोलीले धादिङमा सञ्चालित कृषि आधुनिकीकरण कार्यक्रम, विभिन्न कृषि जोन तथा व्यावसायिक कृषि फार्महरूको प्रगतिको प्रशंसा गर्दै देखिएका चुनौती समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

