धादिङ।
गजुरी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने २ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ।
गजुरी गाउँपालिका–१ स्थित आदर्श माध्यमिक विद्यालयका विद्यार्थी आइनस्टान पाण्डे र अनिरुद सिंह बस्नेत लाई एक कार्यक्रमबीच चेकसहित सम्मान गरिएको हो। उनीहरूलाई कुल नगद रु. १,३३,३३३ (एक लाख तेतीस हजार तीन सय तेतीस रुपैयाँ) बराबरको चेकसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी विद्यालय, परिवार तथा गाउँपालिकाको गौरव बढाएको भन्दै उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ ले यस वर्ष दुई जना विद्यार्थीले उत्कृष्ट जीपीए हासिल गरेको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ धेरै विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो। उहाँले शैक्षिक गुणस्तर सुधारका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिने जानकारी दिनुभयो।
विद्यार्थीहरूलाई सम्मान गर्दै वक्ताहरूले आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरेका थिए। गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको मनोबल उच्च बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
