धादिङबेसी, – प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सोमबार धादिङबेसीमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन समाज कल्याण परिषद्का उपाध्यक्ष नन्दलाल माझीले गर्नुभएको थियो।
साधारणसभामा आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रगति समीक्षा प्रस्तुत गरिनुका साथै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।प्रयास नेपालले हाल १३ वटै स्थानीय तहहरूमा (११ गाउँपालिका र २ नगरपालिका) साझेदार संस्थाहरूको सहकार्यमा विभिन्न सामुदायिक विकास परियोजना सञ्चालन गर्दै आएको छ।
सामाजिक लेखा परीक्षण कार्यक्रममा सहभागी शिक्षक, बालक्लब सदस्य, बाल विकास सहजकर्ता, अभिभावक तथा सरोकारवालाहरूले प्रयास नेपालद्वारा सञ्चालित परियोजनाले समुदायमा ल्याएको सकारात्मक परिवर्तनको खुलेर प्रशंसा गरेका थिए। सहभागीहरूले शैक्षिक गुणस्तर सुधार, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी, विपद् जोखिम न्यूनीकरण तथा सुशासनका क्षेत्रमा उल्लेखनीय सुधार भएको बताएका छन्।
कार्यक्रममा परियोजनाको प्रभावकारिता, प्रशासनिक खर्चको पारदर्शिता, समुदायमा प्रत्यक्ष प्रभाव पारेका कार्यहरू तथा चेपाङ समुदाय लक्षित कार्यक्रमबारे जिज्ञासा र सुझावहरू पनि राखिएका थिए, जसको प्रश्नोत्तर सत्रमा कार्यकारी निर्देशक अर्यालले सम्बोधन गर्नुभयो।
सामाजिक लेखा परीक्षणको जिम्मेवारी पत्रकार डा. मुरारी अधिकारी र अर्जुन श्रेष्ठले वहन गर्नुभएको थियो। कार्यक्रममा उत्कृष्ट कर्मचारी कविता सापकोटालाई प्रमाणपत्र, मेडल र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
उद्घाटन समारोहमा उपाध्यक्ष माझीले “सामाजिक रूपान्तरण र दिगो विकासमा प्रयास नेपालले देखाएको योगदान प्रशंसनीय छ,” भन्दै संस्थाको कार्यप्रति प्रशंसा जनाउनुभयो। उहाँले नागरिक सेवा र सन्तुष्टिप्रति देखाएको संस्थाको प्रतिबद्धतालाई अनुकरणीय भनेका थिए।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तारा लामा, जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, विभिन्न गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू लगायत अतिथिहरूको उपस्थिति थियो। उनीहरूले प्रयास नेपालको २३ वर्षे यात्राको सराहना गर्दै भविष्यको सफलताको शुभकामना व्यक्त गरेका थिए।
