धादिङ, भदौ ७ – नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा तीजको अवसर पारेर ‘शुभकामना आदानप्रदान तथा दरखाने’ कार्यक्रम शनिबार सम्पन्न भएको छ। महासंघको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लामा सक्रिय महिला पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले तीज पर्वले महिलाहरूको एकता, आत्मबल र सांस्कृतिक चेतनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले सम्पूर्ण पत्रकार महिलासहित सम्पूर्ण नेपाली नारीलाई तीजको शुभकामना समेत व्यक्त गरे।
कार्यक्रम संयोजक अस्मिता पोखरेलका अनुसार दरखाने, परम्परागत गीत–संगीत प्रस्तुति, र आपसी संवादको माध्यमबाट महिला पत्रकारहरूबीच सहकार्य र समझदारी बढाउनु कार्यक्रमको मूल उद्देश्य थियो। साथै, यस्तो प्रकारका कार्यक्रमले महिलाहरूको नेतृत्व विकास, आत्मबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति सचेतना फैलाउने अपेक्षा गरिएको उनले बताइन्।
परम्परागत दर खानाका साथै, सांगीतिक रमाइलो र खुलेर कुराकानी गर्न पाउने वातावरणले सहभागीहरूमा तीजको उल्लास अझै विशेष बनेको थियो।
