नेपाल धार्मिक सहिष्णुताको नमुना हो : सञ्चारमन्त्री गुरुङ


  • दिव्यदर्शन
  • शनिबार, साउन २५ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ, साउन २४ गते – सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल धार्मिक सहिष्णुताको नमुना रहेको बताएका छन्।

३१औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घद्वारा काठमाडौँमा आयोजित समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा भाषा, भेषभूषा, धर्म र संस्कृतिको सहअस्तित्व रहेको उल्लेख गरे।

“नेपालमा एउटा संस्कृतिले अर्को संस्कृतिलाई सम्मान गर्छ, सहिष्णुता अब्बल छ,” मन्त्री गुरुङले भने, “संस्कृतिले सबै शक्तिलाई एकीकृत गरेर राखेको छ, त्यसैले यसको संरक्षण आवश्यक छ।”

समारोह ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर – युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो।

मन्त्री गुरुङले भाषा, भेषभूषा, परम्परागत ज्ञान तथा पहिचानको संरक्षणमा जोड दिँदै सबै नेपालीका लागि राजनीति गर्नुपर्ने धारणा व्यक्त गरे। “भेषभूषा, पहिचान, भाषाको संरक्षण गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “तर धर्म, संस्कृति अरुको मानेर नाम चाहिँ किरात चाहियो भन्नुको अर्थ छैन। सिङ्गो नेपाली जनताको लागि राजनीति गर्नुपर्छ।”

नेपालमा सबै भाषा राष्ट्रभाषाको रूपमा रहेको उल्लेख गर्दै उनले मातृभाषाको संरक्षणसँगै नेपाली, अङ्ग्रेजी जस्ता भाषा सिक्न पनि जोड दिए।

संविधान कार्यान्वयनको सन्दर्भमा बोल्दै मन्त्री गुरुङले हालसम्म संविधानमा उल्लेखित अधिकारहरु पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए। “संविधानमा लेखिएका कुरा कार्यान्वयन हुन सकेका छैनन्, तर २०८४ सम्म हाम्रो सरकार रह्यो भने आवश्यक बुँदामा संशोधन गरेर अगाडि बढ्छौं,” मन्त्री गुरुङले स्पष्ट पारे।

आफ्नो संस्कृतिको अभ्यास गर्ने, जल, जमिन र जंगलसँग घनिष्ट सम्बन्ध राख्ने आदिवासी समुदायको पहिचान विशेष रहेको बताउँदै मन्त्री गुरुङले आदिवासी दिवसले यी विषयमा चेतना र प्रेरणा दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web