धादिङ अस्पतालमा डायलसिस सेवा विस्तार, दैनिक ३५ बिरामी लाभान्वित हुने-Divya Darshan TV


  • दिव्यदर्शन
  • सोमबार, असार १६ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ – धादिङ अस्पतालले आजदेखि डायलसिस सेवा थप सशक्त बनाउँदै दैनिक तीन सिफ्टमा सेवा दिन थालेको छ। यससँगै मिर्गौला समस्याबाट पीडित करिब ३५ जना बिरामीहरू दैनिक लाभान्वित हुने भएका छन्।

अस्पतालमा पहिला पाँच वटा डायलसिस मेसिन मार्फत तीन सिफ्टमा सेवा सञ्चालन गरिँदै आए पनि मेसिनको अभावका कारण सबै बिरामीलाई सेवा दिन सकिँदै आएको थिएन। बिरामीहरूको चाप बढेसँगै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले थप दुईवटा डायलसिस मेसिन उपलब्ध गराएपछि सेवा विस्तार सम्भव भएको अस्पताल स्रोतले जनाएको छ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पूर्व घोषणा अनुसार सहयोग पु‍र्‍याएपछि सेवा विस्तार सम्भव भएको भन्दै अस्पताल व्यवस्थापनले उहाँप्रति आभार प्रकट गरेको छ।

हाल पनि जिल्लाका करिब १३ जना बिरामी सेवा प्राप्तिको प्रतीक्षामा छन्। अस्पतालले बिग्रिएका मेसिनहरूको मर्मत कार्य तीव्र रुपमा अघि बढाइरहेको तथा थप दुईवटा मेसिनको व्यवस्था गर्न प्रयासरत रहेको जनाएको छ।

अस्पताल ब्यबस्थापन समितीकी अध्यक्ष राधिका सापकोटाले भन्नुभयो,प्राविधिक उपकरणहरूमा कहिलेकाहीँ समस्या आउनु सामान्य हो। हामी पनि गाडी कन्डिसनमा हिँडाउँदा बाटोमै बिग्रिन सक्छ, जस्तै मेसिन पनि चल्दा–चल्दै बिग्रन सक्छ। यस्ता समस्याहरू सुल्झाउन हामी हरसम्भव प्रयासरत छौँ। तर प्रविधि, विमा प्रणाली र जनशक्ति अभावजस्ता केही पक्ष हाम्रो पूर्ण नियन्त्रणमा नहुन सक्छन्।

साथै, अस्पताल व्यवस्थापनले सेवा सुधारका लागि देखाइएको चासो, सुझाव र सहयोगप्रति सबैमा धन्यवाद व्यक्त गरेको छ। यद्यपि, अस्पतालले सामाजिक सञ्जालमा अतिरञ्जित प्रतिक्रिया दिनुभन्दा यथार्थ बुझ्न र समाधान खोज्न सहयोग पुर्‍याउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web