
धादिङ ।
नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २९औं स्थापना दिवसको अवसरमा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले नीलकण्ठ नगरपालिका ८ अमरावतीमा अवस्थित स्वावलम्बी बहिरा आधारभूत विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।विद्यार्थीहरुलाई कपि, कलम, पेन्सील, कलर, खेलकुदका सामाग्री फुटबल, स्किपिङ, लुडो लगायतका सामाग्री वितरण गरिएको नेपाल तमू विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो । विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्य समिति सदस्यहरुले संकलन गरेको लेबी रकम र ल्होसारको अवसरमा आयोजना गरिएको गुरुङ ड्रेस फोटो कन्टेस्टबाट भएको बचत रकमबाट विद्यालयलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको हो उहाँले भन्नुभयो ।यस्तै सोही अवसरमा तमुस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समितिका तर्फबाट विद्यार्थीलाई खाजा सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींको २०५२ साल माघ २६ गते बुटवलमा भएको प्रथम राष्ट्रिय सम्मेलन गर्दै भिम गुरुङको अध्यक्षतामा स्थापना भएको थियो । संस्थाले तमू विद्यार्थीको हक अधिकार संरक्षण तथा विभिन्न सामाजीक सेवाका कार्यहरु गर्दै आईरहेको छ । धादिङ शाखाले पनि सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आइरहेको छ ।