धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी तथा सदस्यहरुद्धारा पदभार ग्रहण-Divya Darshan TV


  • दिव्यदर्शन
  • बिहिबार, माघ २४ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
धादिङ उद्योग वाणिज्य संघको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।संघको गत पुस २६ र २७ गते धादिङवेशीमा सम्पन्न ३१औं साधारण सभा तथा ११औ अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।धादिङ उद्योग वाणिज्य संघको विधानमा निर्वाचनमा सदस्य पदमा विजयी भएका व्यक्तिहरु मध्येबाट अध्यक्षले पदाधिकारी चयन गर्ने व्यवस्था अनुरुप गत माघ ६ गते बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकबाट पदाधिकारी चयन गरेको थियो ।कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद थपलियाले निर्वाचित अध्यक्ष राम कुमार डल्लाकोटीलाई माइन्युट प्रदान गरेर पद हस्तान्तरण गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पदभार ग्रहण कार्यक्रमको सम्बोधन गर्दै उत्पादन, व्यवसाय, पर्यटन जस्ता क्षेत्र एकै ठाउँ भए धादिङले फड्को मार्ने बताएका छन् । धादिङको आर्थिक विकास, पर्यटन र कृषि क्षेत्रमा दीर्घकालिन सोचका साथ काम गर्ने योजना रहेको छ । उनले भने, ‘धादिङ उद्योग वाणिज्य संघले स्वदेशी वस्तु र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न के के गर्न सक्छरु, यस जिल्लामा भएको खनिजजन्य पदार्थहरुलाई उपयोग गर्न के कस्ता नीति योजनाहरु बनाउन सकिन्छ, त्यसमा जिल्लाको संघले सम्भाव्यता अध्ययन गरी ठोस कार्ययोजना बनाओस, महासंघ र हामीहरु हातमा हात मिलाएर काम गर्न तयार छौं ।’जिल्लाको विकासको प्रचुर सम्भावना बोकेको बुढीगण्डकी जलविद्युत आयोजना बन्न जति ढिलो भयो उति जिल्लालाई घाटा हुने उनले बताए । ‘तपाइ सबै उद्योगी व्यवसायीहरु एक भएर जतिसक्दो छिटो बुढीगण्डकी आयोजना बनाउन दबावमुलक कार्यक्रम गर्नुहोस त्यसमा पनि नेपाल उद्योग वाणिज्य संघले साथ दिने छ’ उनले भने ।
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष रामकुमार डल्लाकोटीले धादिङ जिल्ला कुषि, जलयात्रा र पर्यटन पछि ढुङगा गिटि र बालुवा निकासीको लागि पनि पर्याप्त सम्भावना बोकेको जिल्ला भएपनि नीतिनिर्माण गर्ने तहमा बसेका व्यक्तिहरुले यस क्षेत्रमा काम गर्नेहरुलाई तस्करको नजरले हेर्ने भएकाले व्यवसायीहरु पलायन भइरहेको बताए ।विगत १० वर्षपहिले ढुङगा गिटि र बालुवाको क्षेत्रमा जति ब्यवसाय हुन्थ्यो, अहिले त्यो छैन । डल्लाकोटीले भने, – ‘व्यवसायीलाइ हातखुट्टा बाँधेर काम गर भन्ने प्रवित्तिले गर्दा यस क्षेत्रको व्यवसाय अन्यत्रै सरेको छ । पहिले करोड करोडमा लाग्ने पालिकाका ठेक्काहरु अहिले लाखमा नलागेका पर्याप्त उदाहरणहरु छन् ।’संस्थाका महासचिव तिलक सिंखडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङको आर्थिक र सामाजिक विकासका सम्भावनाहरुसंग नेपाल उद्योग वाणिज्य संघले सहकार्य गर्ने वातावरण सिर्जना होस भन्ने धारणा राखेका छन्।धादिङको आर्थिक विकासको लागि बुढीगण्डकी जलविद्यूत आयोजना कोशेढुङगा सावित हुने बताउदै भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघ मार्फत बुढीगण्डकी आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्ने वातावरण बनाउनको लागि सरकारको ध्यानाकर्षण गराउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web