
धादिङ ।
सदरमुकाम धादिङबेशीमा यहि फागुन १२ गतेदेखि १७ गतेसम्म ‘प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । धादिङ फुटबल क्लबको आयोजनामा फुटबल लाई अघि बढाउँदै गर्दा स्वर्गारोहण भएका नीलकण्ठ नगरपालिका वडा नं.३ का सुमन श्रेष्ठको सम्मानस्वरुप उनकै नाममा खुल्ला फुटबलको आयोजना गरिएको आज मंगलबार पत्रकार सम्मलेनमार्फत आयोजकले जानकारी दिएको छ । मृतक सुमनको सम्मान र खेलाडीहरुलाई प्रोत्साहनका लागि खुल्ला फुटबलको आयोजना गरिएको यस प्रतियोगितामा जहाँसुकैबाट जुनसुकै क्लवले सहभागी हुन पाउने क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले बताउनुभएको छ ।खेलाडीको उमेर र स्थानले प्रतियोगितामा सहभागी हुन रोक लगाइएको छैन । देश विदेशबाट समेत प्रतियोगितामा सहभागी हुन पाउनेछ ।प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ७५ हजार, दोस्रोले ७५ हजार तथा सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई २५ हजार रुपैंया नगद प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले बताउनुभयो । धादिङ जिल्लामा भएका खेलकुद प्रतियोगितामध्ये यो नै सर्वाधिक पुरस्कार राशी भएको आयोजकको दावी छ । यसैगरी प्लेयर अफ टुर्नामेन्ट र अन्य विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने जनाएको छ । २०८१ फागुन १२ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिता नकआउट चरणमा हुनेछ । नाइन ‘ए’ साइड खेल हुने क्लवका सचिव सरोज पाण्डेको भनाई छ । त्यस्तै सोही प्रतियोगिताको पहिलो दिन खुल्ला पुरुष म्याराथुन प्रतियोगिता पनि हुने र म्यारुथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।