धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ मा निर्मित बेलिब्रिजको उद्घाटन भएको छ ।मंगलबार एक भब्य कार्यक्रमकाबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बेलिब्रिजको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै यातायातमन्त्री दाहालले मध्यपहाडी लोकमार्गको काम ढिलासुस्ती भएको स्वीकार गर्दे आगामी दिनमा प्राथमिकतामा राखी तीव्रता दिने र विकासको काममा साझा संकल्प बनाउनुपर्ने बताउनुभयो ।
उद्घाटनपछि कृषिमन्त्री रामनाथ अधिकारीले उत्तरी क्षेत्रलाई जोड्ने बेलिब्रिज निर्माण गर्ने आफ्नो सपना पूरा भएको भन्दै खुशी व्यक्त गरी आफूले निर्वाचनको समयमा मतदाताबीच गरेको बाचा पुरा गरेर जनतालाई विश्वास दिलाएको जोड समेत दिनुभयो ।
संविधान सभा सदस्य पुष्पविक्रम मल्लले धादिङको उत्तरी क्षेत्रलाई जोड्नको लागि एक दशक अगाडी नै माओवादी केन्द्रको सरकारले अघि बढाएको योजना आज पूरा भएको कुरालाई नागरिकले बिर्सन नहुने भनाई राख्नुभयो । त्यसैगरी कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर भण्डारीले मध्यपहाडी हुलाकी राजमार्ग निर्माणमा जनताले प्रश्न उठाउने दिन नआहोस् भन्दै राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएका छन् । पूर्व प्रतिनिधिसभा सदस्य समेत रहेका नेकपा एमालेका नेता खेम लोहनीले विकास निर्माणका लागि प्रारम्भ गरिएका योजनाहरुलाई अलपत्र र अपूरो बनाउन नहुने बताउनुभयो । उहाँले उत्तरी क्षेत्रमा विकास निर्माणका काममा भएको ढिलाईबारे सरोकारवालाले ध्यान दिनुपर्ने कुरामा विशेष जोड पनि दिनुभएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बेलिब्रिज निर्माणको लागि विभिन्न झन्झट व्यहोर्नुपरेको कुरालाई स्मरण गराउँदै बेलिब्रिज निर्माणको लागि पहल र सहयोग गर्ने सम्पूर्णप्रति कृतज्ञता समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी पालिकाका उपाध्यक्ष देवराज धरेलले लगातारको प्रयासपछि बेलिब्रिज निर्माण भएको भन्दै नागरिकमा स्थानीय सरकारप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव परेको धारणा राख्नुभयो।
सो बेलिबृज जलपा नेपाल प्राइभेट लिमिटेडले ६ करोड १२ लाख ७४ हजार ५ सय ७२ रुपैयाँ ९० पैसा लागतमा निर्माण सम्पन्न गरेको हो ।