
धादिङ, १८ असोज ।
नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदै छ ।
नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ । तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । उहाँ शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् ।
कठोर तपस्याका कारण उहाँको मुहार तेज युक्त भएको पुराणमा उल्लेख छ । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ । उहाँ योगसाधिकाको रूपमा पनि परिरचित रहनुभएको छ । आरोग्य र शान्ति प्राप्तिका लागि उहाँको आराधना गरिन्छ ।
नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।