
काठमाडौ
किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ । बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको हो ।आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उल्लेख गर्दे उहाँले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना रहेको बताउनुभयो ।तरकारीमा विषादीको प्रयोग बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । विषादी न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई आग्रह पनि गर्नुभयो । किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तो कृषि बजारको आवश्यकता रहेको मन्त्री अधिकारीले भनाइ थियो ।