बंगलादेशमा भएको बिद्यार्थी आन्दोलनले व्यापार क्षेत्र प्रभावित-Divya Darshan TV


  • दिव्यदर्शन
  • सोमबार, साउन २१ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ / साउन २१
बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू नाकामा अलपत्र परेका हुन् । बंगलादेशबाट भन्सार छुटेका ५ वटा गाडी र नेपालबाट छुटेका ११ वटा गाडी बाटोमै रोकिएको जानकारी उनले दिए । उनका अनुसार नेपालबाट ११ वटा ट्यांकरमा लोड भएको उखुको खुदो निर्यात हुन रोकिएको छ । पाण्डेका अनुसार नेपालबाट बंगलादेशमा काँकडभिट्टा नाका हुँदै मुसुरोको दाल, चिराँइतो, चुत्रो, डाबर च्यवनप्रास लगायत पनि निर्यात हुने गरेको छ । तर, ती सामान यहाँबाट नछुटेका कारण रोकिनु नपरेको उनले बताए ।यस्तै बंगलादेशबाट आउनुपर्ने थुप्रै सामग्रीहरू उद्योगमै रोकिएको पाण्डेले बताएका छन् ।‘भन्सार नै छुटेका ५ वटा टिस्यु पेपर लोड भएका कन्टेनरहरू बंगलाबन्ध नाकामा आएर रोकिएका छन् । पाण्डेका अनुसार काँकडभिट्टा नाका हुँदै नेपालमा बंगलादेशबाट जुट, टिस्यु पेपर, मेडिसिन, धागो धेरै आयात हुने गरेको छ ।नेपालले बंगलादेश निर्यात गर्दा नेपाली गाडीहरू बंगलाबन्ध–फुलबारी नाकामा पुगेर बंगालदेशको गाडीमा अनलोड गर्छन् भने त्यहीँबाट नेपाल आयात हुने सामग्रीहरू पनि लोड गरेर नेपाली गाडीले ल्याउने गर्छन् ।काँकडभिट्टाबाट नेपालले साउनयता मात्रै २० करोड ६५ लाख रुपैयाँको आयात गरिसकेको छ भने १ करोड ३५ लाखको निर्यात गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web