नुवाकोट,बैशाख १७। जिल्लास्थित पञ्चकन्या गाउँपालिकाको कृषि क्षेत्रमा नौलो अभ्यासका रुपमा सुरु गरिएको तर्बुजा खेती फल्न थालेका छन् । मुख्यतः गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न स्थानमा लगाइएको तर्बुजा फल्न थालेको हो । यसअघि आलु खनेर केहि समय फुर्सदिला भएका किसानले डेढ महिना अघि तर्बुजा खेती लगाएका थिए ।
सुरुवाती समयमा स्थानीयले यस खेतीतर्फ चासो देखाएपछि किसानको मागलाई मध्यनजर गर्दै १७ हजार ५ सय तर्बुजाको बिउँ किसानलाई वितरण गरिएको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए । किसान र स्थानीय सरकार बीच समन्वय गर्दै आइरहेको सहयोगी संस्था ग्रामिण स्वाबलम्बन केन्द्रका अधिकृत पवन प्याकुरेलका अनुसार अहिले फलेको फल बिक्री सुरु गरिएको छ । सहयोगी संस्थाद्वारा बीमा तर्बुजा बीमा समेत गरिएको छ । विभिन्न रोग तथा प्राकृतिक प्रकोपमा तर्बुजाको क्षतिपूर्ति दिन सकिने सहयोगी संस्था ग्रामीण स्वाबलम्बन जनाएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का समथर तथा बलौटे माटोमा फलेको रसिलो तर्बुजा तौलको आधारमा फरकफरक मूल्यमा स्थानीय बजारमा बिक्रीवितरण सुरु गरिएको सहयोगी संस्था ग्रामिण स्वाबलम्बन केन्द्रका अधिकृत प्याकुरेल बताउँछन् ।
सहयोगी संस्थाका अधिकृत प्याकुरेलका अनुसार छरिएको तर्बुजाका ९९ प्रतिशत बिउँ उम्रीएका थिए । पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १,२ र ५ मा रहेको बगर क्षेत्रका झण्डै १०० रोपनी क्षेत्रमा उत्पादित तर्बुजाको बेर्ना लगाइने तयारी संस्थाले गरेको थियोे । संस्थाले सतप्रतिशत लगानीमा वितरण गरेको तर्बुजाको बिउँ लगाएको ४५ दिनभित्रै खानलाई योग्य भएको छ । सो समय ७० जना कृषक तर्बुजा लगाउन उत्साहित बनेका थिए । आलु खनेपछि टाइचिन धान उत्पादनमा आउने सुरक्षा, भण्डारण, बजार ब्यवस्थापनकाे समस्या न्युनीकरण गर्ने विकल्पकाे रुपमा तर्बुजा खेतीलाई लिन सकिने सहयोगी संस्थाले जनाएको छ । तर्बुजा बजारीकरणका लागि संस्थाले सहजीकरण समेत गर्ने बताइएको छ ।
सुरुमा नाफाघाटाको जोड घटाउमा लागेका किसान उत्पादित तर्बुजा गाउँपालिका र सहयोगी संस्थाले बिक्रीवितरण गरिदिने भनेपछि किसान मख्ख छन् । पहिलो चरणमा ढिकुरे तथा बट्टार बजारसम्म बिक्री गरिएको र बाकी उत्पादन काठमाडौंसम्म लगिने उत्साहित किसान बताउँछन् ।