काठमाडौं,वैशाख १२ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को आयोजनामा महिला युवा उद्यमी सम्मेलन (वाईईएसडब्ल्यू) सम्पन्न भएको छ । महिला उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार काठमाडौंमा सम्मेलन आयोजना गरिएको हो ।
सन् २०१३ देखि मञ्चले यो कार्यक्रम आयोजना गर्दै आएको छ । सम्मेलनको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरेकी थिइन् । सम्मेलनमा कृषि, निर्माण, घरेलु तथा साना व्यवसाय, शारीरिक व्यायाम, परामर्श र अनुसन्धान क्षेत्रमा संलग्न युवा महिला तथा पुरुष उद्यमी सहभागी थिए । यस्तै उद्यमी बन्न चाहने विद्यार्थीको पनि सहभागिता थियो ।
यस वर्ष आयोजित कार्यक्रमको नारा ‘वियोन्ड ब्यारियर्स’ राखिएको थियोे । सम्मेलनको प्रायोजकमा अन्तरराष्ट्रिय मजदूर संगठन (आईएलओ), राष्ट्रिय वाणिज्य बैंक, युनाइटेड इन्स्योरेन्स लगायत थिए । सम्मेलनमा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नवउद्योगी र विद्यार्थीको उपस्थिति थियो ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगीता पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, किरण शुज म्यानुफ्याक्चरर प्रालि (गोल्डस्टार)बाट विदुषी राणा लगायत महिला उद्यमीको सहभागिता थियो । महिला युवा उद्यमीको अगुवाइमा स्टार्टअप तथा नयाँ उद्यमहरूमा बिहे–नेपाल, एडुकेस, माकुसे, सुइरोलगायत कम्पनी सहभागी थिए । उक्त कार्यक्रमको संयोजक सहारा जोशी थिइन् ।