श्रीलंकाली अर्थमन्त्री साब्रीले नियुक्त भएको २ दिनमै दिए राजीनामा


  • दिव्यदर्शन
  • बिहिबार, चैत्र २४ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

कोलम्बो,चैत २४ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले आफू नियुक्त भएको दुई दिनमै राजीनामा दिएका छन्।

राष्ट्रपति गोतावाया राजापाक्षले गत सोमवार मात्र उनलाई  अर्थमन्त्रीमा नियुक्त गरेका थिए। उनले यसअघि न्याय मन्त्रीबाट राजीनामा दिएका थिए ।

उनले मंगलवार अपरान्ह राष्ट्रपति राजापाक्षलाई राजीनामा बुझाएका हुन्।  उनले धेरै सोच विचार गर्दा अहिलेको आर्थिक संकटबाट पार पाउन नयाँ अपूर्व कदम चाल्नुपर्ने लागेकाले आफूले राजीनामा दिएको बताएका छन् ।

यसअघि राजापाक्षले आफ्ना भाइ बासिल राजापाक्षलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए। बासिलले क्याबिनेटका अरू सदस्यसँगै गत आइतवार राजीनामा दिएका थिए।

आफ्नो मन्त्रिपरिषद्का सबै २६ जना मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षले सोमवार विपक्षी दललाई सरकारमा सहभागी हुन आह्वान गरेका छन् तर अहिलेसम्म अन्य राजनीतिक दलका कोहि  सहभागी भने भएका छैनन् ।

 राष्ट्रपति कार्यालयका अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा समेटिने  छ ।  राष्ट्रपतिले सानो आकारको मन्त्रिपरिषद विस्तार गरेका छन् ।

यसैबीच श्रीलंकामा केही समययता आर्थिक संकट, घण्टौं लामो लोडसेडिङ, इन्धन अभावलगायत समस्याको विरोध गर्दै दैनिक प्रदर्शन हुँदै आएको छ । सरकार देशको आर्थिक संकटप्रति उदाशीन बनेको भन्दै छिट्टै समाधान गर्न प्रदर्शनकारीले सरकारलाई दबाब दिएका छन् । सरकारविरोधी प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरेको छ तर त्यहाँका नागरिकहरुले उल्लंघन गर्दै आएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web