काठमाडौं,चैत २० । प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण पश्चात् आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । आज अपरान्ह भारतको धार्मिक नगरी वराणसी पुगेका प्रधानमन्त्री देउवाको टोली नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेको हो। उनलाइ विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँड लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवासहितको नेपाली प्रतिनिधि मण्डल चैत १८ गते शुक्रबार औपचारिक भ्रमणका लागि भारत गएका थिए । चैत १९ गते शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनले भेट गरे भने नेपालका तर्फबाट मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिइएको छ ।
भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत सहभागी थिए ।