काठमाडौं,चैत २० । सरकारले झन्डै १ अर्ब रुपैयाँ खर्चेका दुई थान रेल आज (आइतवार) देखि जनकपुर–जयनगर रेलमार्गमा यात्रुसहित चल्ने भएका छन् ।
सीटमा बसेर र उभिएर गरी १ हजार ३ सय यात्रुले एकैपटक यात्रा गर्न सक्ने क्षमताका २ ओटा रेल किनेको १९ महीनापछि यात्रुसहित चल्ने भएका हुन् ।
शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट उक्त रेलसेवा उद्घाटन गर्नुभएको हो । जनकपुर–जयनगर दुवैतर्फबाट एकएक गरी चल्ने ती रेल बिहान र दिउँसो छुट्ने छन् । यात्रुले रेल चढ्दा सामान्य सीटका लागि न्यूनतम २० देखि ९० रुपैयाँ र एसी सीटका लागि न्यूनतम १०० देखि ३५० रुपैयाँ भाडा तिर्नुपर्नेछ ।