संविधान दिवसको अवसरमा नमूना बौद्धिक आधारभूत विद्यालयमा फलफूल तथा खाद्यान्न वितरण


  • दिव्यदर्शन
  • शनिबार, असोज ३ २०८३
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा धादिङमा नमूना बौद्धिक आधारभूत विद्यालयका विद्यार्थीलाई फलफूल तथा खाद्यान्न वितरण गरिएको छ।

जिल्ला समन्वय समिति धादिङको संविधान दिवस २०८३ मूल समारोह समितिको आयोजना तथा गैरसरकारी संस्था महासंघ धादिङको संयोजनमा नीलकण्ठ नगरपालिका–३ स्थित विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममार्फत विद्यार्थीलाई फलफूल तथा खाद्यान्न सामग्री प्रदान गर्दै संविधान दिवसलाई सामाजिक उत्तरदायित्व र सहयोगको भावनासँग जोडेर मनाइएको आयोजकले जनाएको छ। विद्यार्थीको आवश्यकता र हितलाई केन्द्रमा राखेर गरिएको सहयोगले उनीहरूको शैक्षिक तथा दैनिक जीवनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, उपप्रमुख कुलमान विश्वकर्मा, गैरसरकारी संस्था महासंघ धादिङकी तोला कुमारी पाठक, इन्द्रमान शाक्य, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठ, प्रहरी नायब उपरीक्षक प्रकाश दाहाललगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्व, व्यवसायी, कर्मचारी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

संविधान दिवसका अवसरमा आयोजित यस्ता सामाजिक तथा मानवीय कार्यक्रमले समुदायमा सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना थप मजबुत बनाउने सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web