धादिङ, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले नेत्रावती डबजोङ गाउँपालिकाका सबै पाँच वटै वडामा वडा स्तरीय प्रथम भेला सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

पार्टीका अनुसार वडा नं. १, २ र ३ मा वैशाख २१ गते भेला आयोजना गरिएको थियो भने वडा नं. ४ र ५ मा मंगलबार कार्यक्रम सम्पन्न गरिएको हो। भेलामा रास्वपा धादिङका जिल्ला उपसभापति गोपाल गुरुङ, नेता उत्तम कुमार अधिकारी, गाउँपालिका कार्यवाहक सभापति राजकुमार गुरुङ (लाले) तथा धादिङ क्षेत्र नं. २ का सदस्य कपिल अधिकारी लगायतको उपस्थिति रहेको थियो।
भेलाबाट वडा नं. १ मा रमेश थापा मगरको सभापतित्वमा ११ सदस्यीय समिति, वडा नं. २ मा सानुकान्छा तामाङको नेतृत्वमा ९ सदस्यीय समिति, वडा नं. ३ मा राम लामाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। त्यसैगरी वडा नं. ४ मा फुलबहादुर गुरुङको सभापतित्वमा ७ सदस्यीय तथा वडा नं. ५ मा दुर्गा बहादुर सापकोटाको सभापतित्वमा ७ सदस्यीय वडा समिति गठन गरिएको जनाइएको छ।
रास्वपाले गाउँ–गाउँमा संगठन विस्तार गर्ने, सदस्यता अभियानलाई तीव्र बनाउने तथा सुशासन र पारदर्शितामा आधारित राजनीति प्रवर्द्धन गर्ने योजना अघि बढाएको जनाएको छ। साथै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका मुद्दालाई प्राथमिकतामा राख्दै स्थानीय जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गरिने पार्टीले उल्लेख गरेको छ।
पार्टी नेताहरूले आगामी दिनमा जनकेन्द्रित अभियानलाई अझ प्रभावकारी र सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
