नेत्रावती डबजोङमा महिलाहरूका लागि पञ्चेबाजा तालिम, सांस्कृतिक संरक्षणसँगै सशक्तीकरणमा जोड


  • दिव्यदर्शन
  • बिहिबार, चैत्र १२ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

नेत्रावती डबजोङ गाउँपालिकामा महिलाहरूको क्षमता विकास र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको पञ्चेबाजा तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

गाउँपालिकाको वडा नं. ५ कटुन्जेमा मिति २०८२ साल पौष २४ गतेबाट सुरु भएको दुई महिने पञ्चेबाजा बजाउने तालिम मिति २०८२ साल चैत ९ गतेका दिन औपचारिक रूपमा समापन गरिएको हो। समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो।तालिममा सहभागी महिलाहरूले परम्परागत नेपाली बाजा पञ्चेबाजा बजाउने सीप सिक्दै सांस्कृतिक पहिचान जगेर्ना गर्न महत्वपूर्ण योगदान दिएका छन्। कार्यक्रमको समापन समारोहमा अध्यक्ष रिजालले महिलाहरूलाई सीपमूलक तालिमले आत्मनिर्भर बन्न सहयोग पुग्ने उल्लेख गर्दै सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो। साथै उहाँले यस्ता कार्यक्रमले स्थानीय संस्कृति संरक्षणसँगै महिलाहरूको सामाजिक र आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउने बताउनुभयो।

तालिम अवधिभर अनुभवी प्रशिक्षकहरूद्वारा सहभागीहरूलाई पञ्चेबाजाका विभिन्न पक्षहरू—बजाउने तरिका, तालमेल, प्रस्तुति शैली लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपप्रति सन्तुष्टि व्यक्त गर्दै भविष्यमा यसलाई पेशागत रूपमा समेत अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशी,गाउँपालिकाका प्रबक्ता एबम् वडा नं.१ का वडा अध्यक्ष ठाकुर गुरुङ,वडा नं.५ का वडा अध्यक्ष हरि अधिकारी लगायतका वडा स्तरीय जनप्रतिनिधि, स्थानीय अगुवा, प्रशिक्षक तथा सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले पञ्चेबाजा प्रस्तुति पनि दिएका थिए, जसले उपस्थित सबैलाई उत्साहित बनाएको थियो।गाउँपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा आयआर्जनसँग सम्बन्धित तालिमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web