सिद्धलेकमा 9Aसाइड खुल्ला फुटबल प्रतियोगिता हुने, टिम दर्ता असोज २३ गतेसम्म


  • दिव्यदर्शन
  • मंगलबार, असोज ६ २०८३
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ । सिद्धलेक गाउँपालिका–१, धादिङस्थित नयाँबस्ती बाजोगराको खेलमैदानमा दोस्रो सिद्धलेक अध्यक्ष कप ९ ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, समाज विकास तथा राष्ट्र निर्माण हो भन्ने सन्देशसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

NKUYC क्लब, सिद्धलेक गाउँपालिका–१, धादिङको आयोजनामा हुने प्रतियोगिता २०८३ असोज २५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न स्थानका फुटबल टोलीले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा विजेता टोलीले रु. १ लाख नगदसहित साधा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुने टोलीले रु. ५० हजार, तेस्रो हुने टोलीले रु. १५ हजार र चौथो हुने टोलीले समेत रु. १५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीले असोज २३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ताका लागि रु. १० हजार प्रवेश शुल्क तोकिएको छ।

प्रतियोगिताको सह–आयोजक सिद्धलेक गाउँपालिका, धादिङ रहेको छ। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय तथा क्षेत्रीय स्तरमा फुटबल खेलको विकास गर्नुका साथै युवाहरुलाई खेलकुदमार्फत सकारात्मक र सिर्जनात्मक गतिविधिमा जोड्नु हो।

क्लबका अध्यक्ष मिङ्मार दोर्जे तामाङ(भिक्टोर)का अनुसार खेलकुदले युवाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउनुका साथै अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने भएकाले प्रतियोगिताले स्थानीय युवालाई खेल क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा फुटबल टोलीलाई निर्धारित समयभित्र टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ। साथै स्थानीय खेलप्रेमी, युवा तथा सर्वसाधारणलाई प्रतियोगितामा उपस्थित भई खेलाडीको हौसला बढाउन आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web