धादिङ/- गजुरी गाउँपालिका–५ मा अवस्थित श्री डोल भञ्ज्याङ माध्यमिक विद्यालयमा नवनिर्मित छात्रावास भवनको उद्घाटन तथा सरस्वती पूजा कार्यक्रम भव्य र सभ्य वातावरणमा शुक्रबार सम्पन्न भएको छ। शिक्षा, संस्कार र धार्मिक आस्थालाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय तहको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन गजुरी गाउँपालिकाका अध्यक्ष आदरणीय श्री गणेशलाल श्रेष्ठले गर्नुभएको हो। उद्घाटन समारोहमा अध्यक्ष ज्यूकी जीवनसंगिनी संगिता श्रेष्ठ , गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल , गजुरी–१ का वडा अध्यक्ष तारानाथ भण्डारी , गजुरी–५ का वडा अध्यक्ष गोविन्द्र लामिछाने , शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष पौडेल , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले ग्रामीण भेगका विद्यार्थीहरूको शैक्षिक पहुँच र गुणस्तर अभिवृद्धिमा छात्रावासजस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शिक्षा, अनुशासन र संस्कारलाई सँगसँगै अघि बढाउन यस्ता पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै विद्यालयको समग्र विकासका लागि गाउँपालिका सधैं सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष श्रेष्ठले सहज आवास व्यवस्थापनका कारण विद्यार्थीहरू अध्ययनमा केन्द्रित हुन सक्ने र यसले शैक्षिक उपलब्धि वृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो। साथै, सरस्वती पूजा जस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा ज्ञानप्रति श्रद्धा, नैतिक मूल्य र अनुशासनको भावना विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रमका क्रममा सरस्वती पूजाको धार्मिक विधिवत् सम्पन्नतासँगै विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरेका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक र स्मरणीय बनाएको थियो। विद्यालय प्रशासनका अनुसार उक्त कार्यक्रमले शैक्षिक, धार्मिक तथा सामाजिक सद्भावको सशक्त सन्देश प्रवाह गरेको छ।
स्थानीय समुदाय, जनप्रतिनिधि र विद्यालय परिवारको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। नवनिर्मित छात्रावासले विशेष गरी टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई ठूलो राहत मिल्ने विश्वास लिइएको छ।
