धादिङ। त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ मा ७ दिने व्यावसायिक मौरी पालन तालिम सुरु भएको छ। दलित, चेपाङ तथा बञ्चितिकरणमा परेका समुदायको आयआर्जन तथा जीविकोपार्जन सुधार गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो।

आजदेखि सुरु भएको तालिम “आयआर्जन तथा जीविकोपार्जन सुधार कार्यक्रम” अन्तर्गत सञ्चालन भइरहेको हो। तालिमले सहभागीहरूलाई आधुनिक तरिकाले मौरी पालन सम्बन्धी सीप प्रदान गरी आत्मनिर्भर बन्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

तालिमको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष राजु उप्रेती प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो भने उपाध्यक्ष देवराज धरेल विशेष अतिथि रहनुभएको थियो। साथै वडा नं. १ का अध्यक्ष भिम प्रसाद भट्ट लगायतका जनप्रतिनिधि तथा तालिममा सहभागी स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले मौरी पालनलाई ग्रामीण स्तरमा आयआर्जनको प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सहभागीहरूलाई तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए।
