धादिङ— धादिङको थाक्रे गाउँपालिका वडा नं.८ का किसानलाई आधुनिक कृषिमा प्रविधि र यान्त्रिकीकरणका लागि आवश्यक कृषि औजारहरु उपलब्ध गराइएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ, धादिङले कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो ।“चक्लाबन्दीमा आधारित खेतीमार्फत उत्पादन वृद्धिका लागि सहयोग कार्यक्रम”अन्तर्गत आज एक कार्यक्रमकाबीच थाक्रे ८ का किसानहरुलाई मिनी टिलर,मिनी ट्याक्टर,स्प्रेयर,डिजिटल तौल नाप्ने मेसिन लगायत कृषकलाई आवश्यक कुटो कोदालोसमेत बितरण गरिएको छ । यस कार्यक्रम माहङकाल भगवती कृषक समूह र कार्यालयको ५० प्रतिशत साझेदारीमा जम्मा रु १७ लाख ७० हजार २ सय ३६ रुपैयाँ लागतमा खरिद गरिएको हो । जसमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ, धादिङद्धारा रु.९ लाख अनुदान रकम उपलब्ध गरिएको छ ।

कृषि क्षेत्रले रोजगारीका साथै आयआर्जनमा टेवा गर्दै आएको भए पनि उत्पादन वृद्धि र आधुनिकीकरण अझै चुनौतीका रूपमा रहेको छ। यस्ता कार्यक्रमहरूले किसानलाई प्रविधिमैत्री र व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।स्थानीय किसानहरू पनि यस कार्यक्रमप्रति आशावादी देखिएका छन्। उनीहरूका अनुसार, यस्तो सहयोगले उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा बजार प्रतिस्पर्धामा सुधार ल्याउने विश्वास गरिएको छ।कार्यक्रमको प्रमुख उद्देश्य जोन क्षेत्रमा कृषि आधुनिकीकरणलाई तीव्रता दिनु, कृषि पूर्वाधार विकास गर्नु तथा व्यवसायीकरण प्रवर्द्धन गर्नु हो। साथै, प्रारम्भिक प्रशोधन केन्द्र स्थापना गरी उत्पादनलाई मूल्य अभिवृद्धि गर्ने तथा बजारसम्म सहज पहुँच पुर्याउने लक्ष्य राखिएको छ।

यसका साथै मकै तथा तरकारीको बजारीकरणमा सहयोग पुर्याउने, स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने र किसानको आयस्तर वृद्धि गर्ने कार्यक्रमको दीर्घकालीन सोच रहेको छ।कार्यालय प्रमुख लक्ष्य बहादुर चौधरीले कृषिमा आधुनिक प्रविधिको प्रयोग र चक्लाबन्दी खेतीमार्फत उत्पादन वृद्धि गर्दै किसानलाई आत्मनिर्भर बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

धादिङमा भएको यो पहलले कृषि क्षेत्रको आधुनिकीकरणमा नयाँ ऊर्जा थप्दै किसानको जीवनस्तर उकास्ने तथा ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने सकारात्मक सन्देश दिएको छ।

