धादिङ /
धादिङमा स्थानीय आपाङ्गता समन्वय समितिका पदाधिकारीहरूलाई लक्षित गर्दै ५ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समावेशी विकासमा स्थानीय संरचनाको भूमिका बलियो बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो।
अपाङ्गता पुनःस्थापन समाज धादिङको आयोजनामा धादिङबेसीमा सोमबारदेखि सुरु भएको उक्त तालिम “अपाङ्गताको पहिचान, रोकथाम र न्यूनीकरण हाम्रो अभियान” भन्ने नाराका साथ सञ्चालन भइरहेको छ। कार्यक्रम फागुन २५ गतेदेखि २८ गतेसम्म चल्नेछ।
तालिममा जिल्लाका पहिलो चरणमा छनोट गरिएका धुनीबेशी र नीलकण्ठ नगरपालिका तथा थाक्रे, गल्छी, गजुरी, वेनीघाट रोराङ र सिद्धलेक गाउँपालिकाका स्थानीय आपाङ्गता समन्वय समितिका पदाधिकारीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
तालिममा अधिवक्ता राजु बस्नेतले सहजीकरण गरिरहेका छन्। कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय गजुरी धादिङले ७ लाख रुपैयाँ बजेट सहयोग गरेको बताइएको छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा, राष्ट्रिय अपाङ्गता महासंघका पूर्व महासचिव राजु बस्नेत, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल, गैरसरकारी संस्था महासंघ धादिङकी अध्यक्ष तोलाकुमारी पाठक लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार तालिममार्फत अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, विद्यमान नीतिगत व्यवस्था, स्थानीय तहको जिम्मेवारी तथा समन्वय समितिको कार्यक्षमता सुदृढ गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रम सहायक सुनिता धितालका अनुसार पहिलो चरणको तालिम फागुन २८ गते सम्पन्न हुनेछ। साथै दोस्रो चरणको तालिम बाँकी ६ पालिकाका लागि चैत २ देखि ६ गतेसम्म त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा सञ्चालन गरिने तयारी गरिएको छ।
