धादिङ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकास्थित १० किलो क्षेत्रमा आज बिहान दुई वटा यात्रुबाहक बस एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।
दुर्घटनामा दाङबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट त्रिशुली जाँदै गरेको बस आपसमा ठोक्किएका हुन्। ठक्करपछि एउटा बस सडक छेउमा रहेको स्थानीयको घरमा पस्दा क्षति अझ बढेको बताइएको छ।
दुर्घटनामा परी घाइते भएका यात्रुहरूको तत्काल उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ भने उद्धार तथा अनुसन्धान कार्य जारी छ।
