धादिङ ।
बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले दशौँ धादिङ महोत्सवस्थलमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा नेकपा एमाले धादिङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर घलेले हस्ताक्षर गर्नुभएको छ ।
अभियानमा सहभागिता जनाउँदै उम्मेदवार घलेले संसदमा निर्वाचित भएपछि जसरी पनि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आयोजना ढिलाइ हुँदा प्रभावित स्थानीय नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न सरकारलाई निरन्तर दबाब दिने बताउनुभयो ।
यसैक्रममा घलेले शुक्रबार चैनपुर क्षेत्रमा बुढीगण्डकी आयोजनाबाट प्रभावित नागरिकहरूसँग छलफल गर्दै प्रभावित परिवारका लागि सरकारका तर्फबाट गर्नुपर्ने काम, पुनर्वास तथा व्यवस्थापनका विषयमा संवाद गर्नुभएको थियो ।
हस्ताक्षर अभियानमा नेकपा एमाले धादिङका कार्यबाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खाली, सचिव राधिका सापकोटा, उपसचिव भक्तबहादुर लामिछाने, नेता डा. रामकुमार अधिकारीलगायत अन्य नेता तथा कार्यकर्ताहरूले पनि सहभागिता जनाउँदै हस्ताक्षर गर्नुभएको छ ।
आयोजकका अनुसार उक्त हस्ताक्षर अभियानमार्फत बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयनमा ल्याई स्थानीय विकास, रोजगारी सिर्जना तथा राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउन सरकारलाई दबाब दिने उद्देश्य रहेको छ ।
