धादिङ– मितेरी पार्टी नेपालबाट धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुसन तामाङले चुनाव चिन्ह ‘घोडा’ बोकेर घरदैलो अभियानलाई तीव्र बनाएका छन्। गाउँ–गाउँमा पुग्दै जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका तामाङप्रति स्थानीयवासीहरूले आशा, भरोसा र सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै उम्मेदवार तामाङले राजनीति सत्ता प्राप्तिको साधन नभई जनसेवाको माध्यम भएको स्पष्ट पारे। “राजनीति सेवा गर्ने माध्यम हो भन्ने मान्यताका साथ म चुनावी मैदानमा उत्रिएको हुँ। जनताको विश्वास र माया नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले स्थानीय जनतासँगको भेटघाटमा बताए।उत्तरी धादिङ क्षेत्रका स्थायी बासिन्दा सुसन तामाङ विगत एक दशकदेखि सामाजिक तथा जनसमस्याको समाधानमा सक्रिय रूपमा लाग्दै आएका युवा नेता हुन्। शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार, खानेपानी, विद्युत् तथा कृषि क्षेत्रका समस्या समाधानका लागि निरन्तर आवाज उठाउँदै आएका तामाङ जनस्तरमा लोकप्रिय बन्दै गएका छन्।स्थानीयवासीहरूका अनुसार तामाङ समस्या परेपछि मात्रै होइन, सधैं जनतासँगै रहने, सुन्ने र समाधान खोज्ने नेता हुन्। “हामीले चाहेका कुरा बुझ्ने र काम गरेर देखाउने क्षमता भएको नेता सुसन तामाङ नै हो,” अभियानमा सहभागी एक स्थानीयले बताए।आगामी निर्वाचनमा मितेरी पार्टी नेपालका उम्मेदवार तामाङ नयाँ सोच, नयाँ ऊर्जा र विकासमुखी एजेण्डासहित चुनावी मैदानमा सशक्त उपस्थिति जनाइरहेका छन्। समावेशी विकास, युवालाई रोजगारी, किसानमुखी नीति तथा आधारभूत सेवामा पहुँच विस्तार उनको मुख्य प्राथमिकतामा रहेको छ।जनताको विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै तामाङले धादिङ क्षेत्रको समग्र विकासका लागि इमानदार र परिणाममुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चुनाव नजिकिँदै जाँदा उनको अभियानले थप गति लिँदै गएको देखिन्छ।
