धादिङ ।-धादिङ उद्योग वाणिज्य संघद्धारा आयोजित दशौं धादिङ महोत्सव आज बृहत झाँकीसहित समुद्घाटन गरिएको छ ।धादिङबेसी खुलामञ्चमा आयोजना गरिएको महोत्सव भव्य समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। उद्घाटन समारोह धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको सभापतित्वमा सम्पन्न भएको थियो, जसमा विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, उद्यमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। फागुन २१ गते हुन गइरहेको निर्वाचनका कारण लागू आचारसंहितालाई ध्यानमा राख्दै कार्यक्रममा राजनीतिक दल तथा नेताहरूलाई आमन्त्रण नगरिएको आयोजकले जनाएको छ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले धादिङ जिल्लामा उत्पादन हुने स्थानीय वस्तु, कृषि उपज, पर्यटन तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्न यस्ता महोत्सवहरूले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनले स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना तथा जिल्लाको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न महोत्सव प्रभावकारी माध्यम बन्ने उल्लेख गर्नुभयो। यस्ता कार्यक्रममार्फत स्थानीय अर्थतन्त्र चलायमान हुने र व्यवसायी तथा उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित हुने उनको भनाइ थियो।

महोत्सव उद्घाटनअघि धादिङबेसी पुछारबजारबाट सुरु भएको भव्य सांस्कृतिक र्यालीले सम्पूर्ण बजार क्षेत्रलाई उत्सवमय बनाएको थियो। विभिन्न जातजाति तथा भाषाभाषी समुदायको सांस्कृतिक पहिचान झल्किने झाँकी, भजन, महिला बाजा सहितको र्याली महोत्सव स्थल खुल्लामञ्चसम्म पुगेको थियो। र्यालीलाई झाँकी तथा महिला बाजा प्रतियोगिताको रूपमा समेत आयोजना गरिएको थियो, जसले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुर्याएको छ।

महोत्सव अवधिभर आयोजक धादिङ उद्योग वाणिज्य संघले बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई निरन्तरता दिनुपर्ने मागसहित हस्ताक्षर अभियानसमेत सञ्चालन गरिरहेको छ। यस अभियानमार्फत जिल्लाको दीर्घकालीन विकास र ऊर्जा उत्पादनमा योगदान पुर्याउने आयोजना समयमै सम्पन्न गरिनुपर्ने सन्देश दिइएको छ।

उद्घाटनको दिन दर्शक तथा सर्वसाधारणको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै प्रवेश निःशुल्क गरिएको थियो भने भोलिदेखि टिकट शुल्क लागू हुने आयोजकले जानकारी दिएको छ।दशौं धादिङ महोत्सवका प्रमुख आकर्षणहरूमा भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम, स्थानीय तहका उत्पादनहरूको प्रदर्शनी स्टल, जिल्ला पशु सेवा, कृषि विकास तथा वन कार्यालयबाट प्रदान गरिने सेवा र परामर्श, स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनी, रमाइलो मेला तथा बाल उद्यान रहेका छन्। साथै, महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूद्वारा दैनिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।दशौं धादिङ महोत्सवले जिल्लाको पहिचान, उत्पादन, संस्कृति र पर्यटनलाई राष्ट्रियस्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक तथा सरोकारवालाहरूले व्यक्त गरेका छन्। स्थानीय उद्यमशीलताको विकास, व्यवसायिक अवसर विस्तार र सामाजिक–सांस्कृतिक एकताको सन्देश बोकेको यो महोत्सव धादिङ जिल्लाको समग्र विकासतर्फको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
