धादिङ । जिल्लाको कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ दशौं धादिङ महोत्सव–२०८२ भोलि माघ १५ गतेदेखि धादिङबेसीमा सुरु हुँदैछ। १० दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने कार्यक्रम तय गरिएको छ।
महोत्सवको पहिलो दिन कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतियोगिता र सांस्कृतिक झाँकी प्रदर्शन मुख्य आकर्षणका रूपमा रहनेछ। जातजाति तथा भाषाभाषी समुदायको सांस्कृतिक पहिचान झल्किने झाँकीमा भजन, महिला बाजा लगायत विविध मौलिक प्रस्तुति समावेश हुने आयोजकले जनाएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सांस्कृतिक झाँकी प्रदर्शन बिहान १० बजेदेखि साथै कृषिजन्य वस्तु तथा सामग्रीहरूको छुट्टै प्रदर्शनी र प्रतियोगिता पनि उद्घाटनकै दिन आयोजना गरिनेछ।
आयोजकका अनुसार महोत्सवले जिल्लाको स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवका प्रमुख आकर्षणहरू:
- कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी र प्रतियोगिता
- सांस्कृतिक झाँकी प्रदर्शन तथा प्रतिस्पर्धा
- भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम
- स्थानीय तहका विशेष उत्पादनका स्टल
- जिल्ला पशुसेवा, कृषि विकास र वन कार्यालयबाट सेवा तथा परामर्श
- स्थानीय परिकार तथा सांस्कृतिक खानाको प्रदर्शनी
- रमाइलो मेला र बाल उद्यान
- राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारद्वारा दैनिक सांस्कृतिक प्रस्तुति
दशौं धादिङ महोत्सवले जिल्लाको पहिचान, उत्पादन र संस्कृतिलाई राष्ट्रिय स्तरसम्म चिनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
