धादिङ जिल्लाकै पहिलो एस.एल.सी. उत्तीर्ण महिला रुकु कार्कीबाट विद्यार्थीहरूलाई शैक्षिक सहयोग


  • दिव्यदर्शन
  • शुक्रबार, माघ १० २०८२
  • पढ्न लाग्ने समय 3 मिनेट

धादिङ/-धादिङ जिल्लाकै पहिलो एस.एल.सी. उत्तीर्ण महिला तथा नेपाली साहित्यकी साधिका रुकु कार्कीले बसन्त पञ्चमीको पावन अवसर पारेर विद्यार्थीहरूका लागि महत्वपूर्ण शैक्षिक सहयोग प्रदान गर्नुभएको छ । गजुरी गाउँपालिका–१ मा अवस्थित आदर्श माध्यमिक विद्यालयका करिब ३०० जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गर्नुका साथै बेनीघाटरोराङ गाउँपालिका–५ बिशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।

साहित्यिक क्षेत्रमार्फत समाजमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएकी कार्की हाल आफ्ना तीन छोरा रबि, राजु र रोशनको सहयोगमा विभिन्न विद्यालयहरूमा पुगेर विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित शैक्षिक सहयोगमा सक्रिय रहनुभएको छ ।

उहाँले आफ्नो जीवनका अनुभवलाई स्मरण गर्दै विभिन्न कारणवश आफूले चाहेर पनि उच्च शिक्षा हासिल गर्न नसकेको पीडा व्यक्त गर्नुभएको छ । यही अनुभवबाट प्रेरित भई अहिले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा सहयोग गर्दै आउनुभएको उहाँको भनाइ छ ।

रुकु कार्कीका छोराहरूले ‘निको फाउन्डेसन’ मार्फत मानव सेवाका विभिन्न सामाजिक कार्यहरू सञ्चालन गर्दै आएका छन् । शिक्षा, स्वास्थ्य र मानवीय सेवाको क्षेत्रमा उनीहरूले गरिरहेको योगदान स्थानीयस्तरमा सराहनीय मानिएको छ ।

धादिङकी छोरी तथा मकवानपुरकी बुहारी रहेकी रुकु कार्की नेपाली साहित्यमा सशक्त उपस्थिति जनाएकी स्रष्टा हुन् । उहाँले कविता, गीत सङ्ग्रह, उपन्यास तथा कथा सङ्ग्रह जस्ता विभिन्न विधामा कृतिहरू प्रकाशन गरी नेपाली साहित्यलाई समृद्ध बनाउँदै आउनुभएको छ । साहित्य र समाजसेवालाई सँगसँगै अघि बढाउँदै आउनुभएकी कार्कीको यो पहलले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढ्नुका साथै समाजमा शिक्षाको महत्वबारे सकारात्मक सन्देश प्रवाह भएको स्थानीयवासीहरूको प्रतिक्रिया रहेको छ ।

यस किसिमको शैक्षिक सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा निरन्तरता दिन प्रेरणा मिल्ने र आगामी दिनमा अझ धेरै यस्ता सामाजिक कार्यहरू हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web