गजुरी ८ को रिठ्ठावोटे आ.वि.का ७१ जना विद्यार्थीलाई न्यानो पोशाक वितरण


  • दिव्यदर्शन
  • सोमबार, पुष २८ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ — गजुरी गाउँपालिका वडा नं.–८ मा रहेको श्री रिठ्ठावोटे आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार तामाङ समुदायका ECD देखि कक्षा ६ सम्मका ७१ जना विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको छ।

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा र पठन–पाठनलाई सहज बनाउन सामाजिक उत्तरदायित्वको भावना सहित गजुरी गाउँपालिका–६ निवासी व्यवसायी अनिल श्रेष्ठ र नवीन खड्काले न्यानो कपडा सहयोग गरेका हुन्। सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।

न्यानो पोशाक वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङ (कर्ण), वडा नं. ८ का वडा अध्यक्ष देवराज ओझा, अध्यक्षकी जीवनसङ्गिनी संगिता श्रेष्ठ, गाउँपालिकाका स्रोत शिक्षक सुजन भण्डारीलगायतको उपस्थिति रहेको थियो।

सहयोगको कदरस्वरूप विद्यालयले निभा बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि. का सफल व्यवसायी तथा सहयोगी व्यक्तित्व अनिल श्रेष्ठ र नवीन खड्कालाई गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको हातबाट कदर–पत्र प्रदान गरेको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता मानवीय र शैक्षिक सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै शिक्षामा निरन्तरता कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन लो तामाङले जाडोयाममा विद्यार्थीलाई न्यानोपन र सहजता प्रदान गर्ने यो सहयोग प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web