धादिङ — सामुदायिक रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालन गर्दै आएको श्री सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सोमबार भव्य रूपमा सम्पन्न भएको छ।
सभामा सञ्चालक समिति अध्यक्ष मनराज भण्डारीको अध्यक्षता र संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो। सभामा संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका नीति, कार्यक्रम र योजना सर्वसम्मत रूपमा पारित गरियो।
कार्यक्रममा वक्ताहरूले गैरनाफामूलक सामुदायिक रेडियोका रूपमा रेडियो बिहानीले सूचना, शिक्षा र सामाजिक चेतनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।
साधारणसभाकै अवसरमा कार्यक्रम प्रस्तोता सपना कुवँरलाई नगदसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो।
२०६६ सालदेखि नियमित प्रसारण गर्दै आएको रेडियो बिहानीले हाल धादिङसहित आसपासका क्षेत्रमा सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रममार्फत श्रोतालाई सुसूचित गर्दै आएको छ।
