आयाम इङलिस स्कुलमा १५औँ खेल उत्सव–२०८२ सुरु, माघ २ गतेसम्म विविध खेलकुद


  • दिव्यदर्शन
  • शनिबार, पुष २६ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं. १ अन्तर्गत नलाङ बैरेनीमा अवस्थित आयाम इङलिस स्कुलमा १५औँ खेल उत्सव–२०८२ शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। विद्यालयको वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको खेल सप्ताहले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

खेल उत्सवको उद्घाटन अवसरमा विद्यालय परिसरमा विद्यार्थीहरूको आकर्षक मार्चपास आयोजना गरिएको थियो। उद्घाटनकै दिन छात्र–छात्राबीच फुटबल, भलिबल, ब्याडमिन्टन, खो–खो, पोर्टबल लगायतका विभिन्न खेलहरू सम्पन्न भएका छन्।

विद्यालयकी व्यवस्थापक ममिता अर्याल का अनुसार खेल सप्ताह माघ २ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा प्री–प्राइमरी र प्राइमरी तह अन्तर्गत बल रेस, फ्रग रेस, स्पुन रेस, निडल थ्रेड रेस, एथ्लेटिक्सका विभिन्न विधा, फुटबल, भलिबल, कबड्डी लगायतका खेलहरू आयोजना गरिनेछन्। साथै, शिक्षक–अभिभावकबीच पनि मैत्रीपूर्ण खेलहरू सञ्चालन गरिने जनाइएको छ।

विद्यालय सञ्चालक समिति अध्यक्ष विकास कोइराला ले शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलाप विद्यार्थीको चौतर्फी विकासका लागि अत्यन्त आवश्यक रहेको बताउनुभयो। खेल सप्ताहमार्फत विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर हुने र आत्मविश्वास अभिवृद्धि हुने उहाँको भनाइ छ। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई माघ २ गते पुरस्कार वितरण कार्यक्रम मार्फत सम्मान गरिने पनि उहाँले जानकारी दिनुभयो।

हाल कक्षा ७ सम्म अध्यापन हुँदै आएको आयाम इङलिस स्कुलमा दक्ष शिक्षक–शिक्षिकाद्वारा मैत्रीपूर्ण वातावरणमा पठनपाठन भइरहेको छ। विद्यालयमा नृत्य कक्षा, तेक्वान्दो, स्पोर्ट्स कक्षा सञ्चालनमा छन् भने सुविधायुक्त कम्प्युटर ल्याब, लाइब्रेरी, अतिरिक्त क्रियाकलापका लागि आवश्यक सामग्री र दक्ष प्रशिक्षकहरू उपलब्ध रहेको व्यवस्थापक अर्यालले बताउनुभयो।

विद्यालयमा हाल करिब २०० जना विद्यार्थी, १५ जना शिक्षक–शिक्षिका तथा ३ जना अन्य कर्मचारी कार्यरत रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web