नीलकण्ठ १२ मा शिक्षक अभिमुखीकरण तथा शिक्षक भलिबल कार्यक्रम सम्पन्न


  • दिव्यदर्शन
  • शुक्रबार, पुष १८ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नं. १२ को आयोजनामा “शिक्षक अभिमुखीकरण कार्यक्रम तथा शिक्षक भलिबल कार्यक्रम २०८२” सफलतापूर्वक सम्पन्न भएको छ। शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि, आपसी सद्भाव, सहकार्य र स्वास्थ्य प्रवर्द्धनलाई लक्ष्य गरी आयोजना गरिएको उक्त कार्यक्रमले शिक्षा र खेलकुदलाई एकसाथ जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ।

कार्यक्रम नीलकण्ठ नगरपालिका प्रशासकीय प्रमुख अधिकृत हरिदत्त कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका शाखा प्रमुख तथा वरिष्ठ शिक्षा अधिकृत प्रकाश दत्त भट्ट र नीलकण्ठ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा साङ्कोष माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा नीलकण्ठ नगरपालिका शिक्षा समिति सदस्य राकेश धमला, नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोइराला, तथा पशुपति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराम भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

अतिथिहरूले शिक्षक अभिमुखीकरण कार्यक्रमले शिक्षण–सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याउने, शिक्षकहरूबीच अनुभव आदान–प्रदान र व्यावसायिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै शिक्षक भलिबल प्रतियोगिताले शिक्षकहरूबीच एकता, अनुशासन र खेल भावना विकास गर्न सहयोग पुर्‍याउने बताउनुभयो।कार्यक्रमअन्तर्गत पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा अन्तरविद्यालय स्तरीय शिक्षक भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतिस्पर्धात्मक र उत्साहजनक खेलबीच सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका शिक्षक टोलीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतियोगिताको नतिजाअनुसार

  • 🥇 प्रथम स्थान: साङ्कोष माध्यमिक विद्यालय, नीलकण्ठ–१२
  • 🥈 द्वितीय स्थान: पशुपति माध्यमिक विद्यालय, नीलकण्ठ–१२
  • 🥉 तृतीय स्थान: मनरूपी माध्यमिक विद्यालय, नीलकण्ठ–१३

प्रतियोगितामा सहभागिता जनाएको पञ्चकन्या माध्यमिक विद्यालयप्रति विशेष आभार व्यक्त गरिएको छ।कार्यक्रम सफल बनाउन निमन्त्रणा स्वीकार गरी उपस्थित सम्पूर्ण विद्यालय परिवार, खेलमा सहभागी शिक्षकहरू, खेल रेफ्रीको भूमिका निर्वाह गर्नु भएका शिक्षक संघ अध्यक्ष बि.एल. तामाङ, तथा व्यवस्थापन र समन्वयमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका पशुपति माध्यमिक विद्यालय र साङ्कोष माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

शिक्षक अभिमुखीकरण र खेलकुदलाई एकै कार्यक्रममार्फत अघि बढाइनुले नीलकण्ठ नगरपालिकामा शिक्षा क्षेत्रको गुणस्तर सुधारसँगै शिक्षकहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने वडा नं.१२ का वडाध्यक्ष धर्मराज भण्डारीको भनाइ छ।

Photo:Rajkumar Bhandari

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web